बैंकभित्रै ठूलो घोटाला: फिक्स डिपोजिट देखाएर नक्कली कर्जा फाइल, करोडौं रकम हरायो

साझा लाल्टिन संवाददाता

०२ चैत,काठमाडौं विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंकमा आफ्नै कर्मचारीको मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ। ठूलो रकम हिनामिनाको तथ्य सार्वजनिक भएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविद कटुवालले बताए, “उजुरी परेको छ। हामी छानबिन गरिरहेका छौँ। अनुसन्धान जारी भएकाले अहिले नै निष्कर्ष निकाल्न सकिँदैन।” आवश्यक कागजात मागिसकेको छानबिन टोलीले हिनामिनाको अनुसन्धान अघि बढाइरहेको छ।

बैंक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारी संलग्न छन्। उनीहरू सबैमाथि कारबाहीका लागि उजुरी दिइएको छ। आन्तरिक लेखापरीक्षणले कञ्चनबारी शाखामा रोजी कँडेलको नेतृत्वमा रकम हिनामिनाको तथ्य पत्ता लगाएको छ।

प्रारम्भिक छानबिनमा पत्ता लागेको छ कि ती कर्मचारीले फिक्स डिपोजिटमा राखिएको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल बनाएर रकम निकाल्ने गरेका थिए। बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरेको छ र रकम असुली तथा दोषीको कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको छ।

प्रतिक्रिया