प्रधानमन्त्री कार्कीले सहकारी ठगबारे भनिन् - ‘हामीले नगरे कसले गर्ने ?

साझा लाल्टिन संवाददाता

३० असोज, काठमाडौं -  प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छिन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । 

 सो क्रममा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताइन् ।  ‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू सुनका घडी लगाएर हिँड्छन् । महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ,’ प्रधानमन्त्रीले स्पष्ट रूपमा भनिन्– ‘जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ ।’ 

‘अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो,’ उनले भनिन् ।

सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ । ‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडितचाहिँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्योचाहिँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुनु हुँदैन,’ प्रधानमन्त्रीले  भनिन्- ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ । ’

प्रतिक्रिया