३० फागुन,काठमाडौं - रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर एक महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो।
मोतीखन्ने डाँडामा घर पोत्ने माटो खन्न गएका सात जनामध्ये गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दै गर्दा अचानक ढिस्को खसेर निर्मला पुरिएकी थिइन्। घटनाबारे दिउँसो करिब साढे १२ बजे प्रहरीलाई जानकारी पुगेको थियो।
जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धार प्रयास गर्दा निर्मलालाई बाहिर निकालिए पनि उनको ज्यान गइसकेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल पठाइएको छ।
घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको बताइएको छ। घाइते तीनै जनाको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
माटो खन्न गएका अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।