११ फागुन,काठमाडौं - टिभी रियालिटी शो कमेडी नाइट्स विथ च्याम्पियन्सको नयाँ एपिसोडमा नेकपा अध्यक्ष तथा पूर्वमेयर रेनु दाहालको क्यारिकेचर प्रस्तुत भएपछि नेकपानिकट संगठन जेन-जी रेड फोर्स नेपालले आपत्ति जनाएको छ। एपिसोड ४७ को ट्रेलर सार्वजनिक भएपछि रेड फोर्सले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
ट्रेलरमा बालकलाकार सुयसा खनालले रेनुको प्रतिनिधित्व गर्दै संवाद दिएको दृश्य समावेश छ। उक्त संवादमा सुयसाले कार्यक्रममा सोधिएको प्रश्नको उत्तर दिन्छिन्:
“तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो?”
र उत्तर दिन्छिन्, “आफैंले सुरु गरेको पार्टी आफैंले सकाउनुभयो।”
यस संवादमाथि रेड फोर्सले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यो टिप्पणीले प्रचण्डमाथि व्यंग्य प्रहार गरेको देखिन्छ र उनका राजनीतिक योगदान, त्याग र ऐतिहासिक भूमिकालाई हल्का ढंगले प्रस्तुत गरेको अनुभूति भएको छ।”
रेड फोर्सले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ:
“हामीलाई थाहा छ, हास्य-व्यंग्य कलाकारहरूको पेशा दर्शकलाई हसाउनु हो, र त्यो सजिलो काम होइन। तथापि, सार्वजनिक व्यक्तित्वका विषयमा प्रस्तुति दिँदा ऐतिहासिक योगदान र संवेदनशील पक्षप्रति न्यूनतम सम्मान र जिम्मेवारी अपेक्षित हुन्छ। आगामी दिनमा आदरणीय नेतृत्वप्रति टिप्पणी गर्दा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र त्यसका लागि भएको संघर्षलाई स्मरण गर्दै सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।”
यता, बालकलाकार सुयसा खनालले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनिन् कि हास्य-व्यंग्य गर्न पाउने स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास अनुचित हो। उनले स्मरण गराएकी छन् कि राजतन्त्रको समयमा समेत व्यक्तिहरूलाई हास्यव्यंग्य गर्न स्वतन्त्रता थियो।