निर्वाचन आयोग विरुद्ध धनुषा–१ मा नेपाली कम्युनिस्ट पार्टी का कार्यकर्ताले प्रदर्शन गरेका छन्। आफ्नो उम्मेदवार विजयी भइसके पनि आयोगले परिणाम घोषणा नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
धनुषा–१ को धनुषाधामस्थित मतगणनास्थलमा नेकपाका सयौँ कार्यकर्ताले घेराउ गर्दै तत्काल विजयी प्रमाणपत्र वितरण गर्न माग गरेका छन्। नेकपाका उम्मेदवार मातृका प्रसाद यादव ले निर्वाचन आयोगले दोहोरो चरित्र देखाएको आरोप लगाए।
यादवका अनुसार आयोगले आफ्नै निर्णयबाट तीन–तीन पटक पछि हट्दै परिणाम घोषणा रोकेको छ। “पहिला राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेज गरियो, पछि उनको मतगणना गरी छुट्टै लगत राख्ने निर्णय गरियो, तर अहिले फेरि मुद्दा विचाराधीन रहेको भन्दै परिणाम घोषणा रोकिएको छ,” उनले भने।
निर्वाचन आयोगका शाखा अधिकृत अरुण अधिकारी ले भने किशोरी साह कमलको उम्मेदवारी खारेजको विषयमा मुद्दा सर्वोच्च अदालत मा विचाराधीन रहेकाले परिणाम घोषणा नगर्न आयोगबाट पत्र आएको जानकारी दिएका छन्। सर्वोच्चबाट आदेश नआउँदासम्म धनुषा–१ को प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न निर्देशन दिइएको उनले बताए।
यसअघि आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण भेटिएपछि फागुन १८ गते किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले भने उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
यादवले आयोगले आफ्नो निर्णय नसच्याएर विजयी प्रमाणपत्र नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
निर्वाचन आयोगको अन्तिम मतगणना अनुसार किशोरी साह कमलबाहेक नेकपाका मातृका यादवले १० हजार ४२८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस का उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन्।