आशिका तामाङको तिखो कटाक्ष : समानुपातिक सूचीमा ‘आफ्नै मान्छे’को मेला

साझा लाल्टिन संवाददाता

१५ पुस, काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले सार्वजनिक गरेका बन्दसूचीमाथि सामाजिक अभियन्ता आशिका तामाङले कटाक्ष गरेकी छन्।

तामाङले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ’मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औँला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।’ उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटामा पहुँच र पहिचान भएका व्यक्तिहरू अटाएको भन्दै असन्तुष्टि जनाएकी छन्।

उनले पहिल्यै चर्चित भएका व्यक्ति, ठेकेदारका छोरा, आसेपासे, छिमेकी र व्यक्तिगत चिनजानका आधारमा समानुपातिकमा अवसर पाउने अवस्था देखिएको उल्लेख गरेकी छ। सानोमा सँगै स्कुल पढेका साथीसमेत सांसद र मन्त्री बन्ने अवसर पाउने तर वास्तविक रूपमा पछाडि पारिएका वर्ग भने फेरि पनि ओझेलमा पर्ने स्थिति आएको उनको भनाइ छ। 

तामाङले समानुपातिक प्रणालीको उद्देश्य कमजोर, सीमान्तकृत र अवसरबाट वञ्चित वर्गलाई राज्यका निकायमा प्रतिनिधित्व गराउनु भए पनि व्यवहारमा भने त्यसको विपरीत भइरहेको बताएकी छन्।

प्रतिक्रिया