ओली–प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको बस्नेतको दाबी

साझा लाल्टिन संवाददाता

काठमाडौं । महेश बस्नेतले केपी शर्मा ओलीपुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताले देशको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

बिहीबार त्रिवि शिक्षण अस्पतालमा उपचाररत एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड पुगेका थिए। दुई नेताबीच करिब ४० मिनेट छलफल भएको बताइएको छ।

केही नेताहरूले उक्त भेटलाई स्वास्थ्य अवस्थाबारे जानकारी लिन केन्द्रित मात्र भएको बताएका भए पनि बस्नेतले भेटको राजनीतिक अर्थ रहेको संकेत गरेका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले राजनीतिक मतभेदका बाबजुद दुई नेताबीच संवाद हुनु सकारात्मक रहेको उल्लेख गरेका छन्।

उनले पूर्वप्रधानमन्त्रीद्वयबीच भएको भेटले राष्ट्रिय हित, सहकार्य र संवादको आवश्यकतालाई पुनः पुष्टि गरेको बताएका छन्। साथै यस्ता भेटघाट र समझदारीले देशमा स्थिरता, सहकार्य र एकताको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया