१० पुस, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आजै पुनः वार्तामा बस्ने भएका छन्। प्रारम्भिक वार्तापछि दुवै पक्षले सकारात्मक संकेत दिएका छन्।
वार्तास्थलबाट रवि लामिछाने बाहिरिएपछि रास्वपाका नेता राजीव खत्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आज बेलुकी पुनः बैठक बस्ने जानकारी दिए। उनका अनुसार पहिलो चरणको छलफलमा दुवै पक्षले आ–आफ्ना अडान स्पष्ट राख्दै ‘मध्यमार्गी समाधान’ खोज्ने सहमति गरेका छन्।
‘बिचको लाइन पहिचान गरेर आ–आफ्नो सर्कलमा छलफल गर्ने र त्यसपछि फेरि भेट्ने सहमति भएको छ,’ खत्रीले बताए । उनले वार्ताको माहोल सकारात्मक रहेको र संवादलाई निरन्तरता दिने दुवै पक्षको चाहना देखिएको उल्लेख गरे ।
रवि–बालेन वार्तालाई समसामयिक राजनीतिक समीकरण र सम्भावित सहकार्यको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। आज बेलुकी हुने दोस्रो चरणको वार्ताले आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।