काठमाडौं - श्रममन्त्री पदबाट बर्खास्त गरिएका दीपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन्। उनले आफ्नो श्रीमानमाथि अन्याय भएको गुनासो गर्दै आफूलाई जोडेर गरिएको कारबाही उचित नभएको बताएकी हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई पदीय दुरुपयोग गरेको आरोपमा आज पदमुक्त गरेका थिए। साहले आफ्नी पत्नी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएको आरोप लगाइएको छ।
यस विषयमा श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत ७ मिनेट लामो भिडियो सार्वजनिक गर्दै आफ्नो स्पष्टीकरण दिएकी छन्। उनले स्वास्थ्य बिमा बोर्डमा आफ्नो निरन्तरताको विषयलाई श्रीमानसँग जोड्नु आवश्यक नभएको टिप्पणी गरेकी छन्।
श्रेष्ठले आफू र आफ्ना श्रीमानसँग एकपटक पनि स्पष्टीकरण नसोधी कारबाही गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्। भिडियोमा उनले आफ्नो योग्यता, अनुभव र उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गर्दै नियुक्ति आफ्नो क्षमता र योगदानका आधारमा भएको दाबी गरेकी छन्।
उनको भनाई जस्ताको तस्तैः
हालै आइरहेको स्वास्थ्य बीमा बोर्डमा मेरो पुनर्नियुक्तिको कुराको बारेमा प्रष्ट रूपमा आफ्नो कुरा राख्न चाहन्छु । यहाँ र मेरो पृष्ठभूमि थाहा नभएर पनि नानाथरि कुराहरू उठिरहेको हुन सक्छ भन्ने लागेर म त्यसबारे पनि केही भन्न चाहन्छु ।
म टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक पढेको हुँ । त्यस विषयमा स्नातक तहमा म त्यहाँको स्वर्ण पदक विजेता थिएँ । त्यसपछि मैले अस्पतालमा काम गरेँ, क्लिनिकमा पनि काम गरेँ । त्यस लगत्तै मैले फेरि जनस्वास्थ्यमा स्नातकोत्तर गरेँ, जसमा पनि म स्वर्ण पदक विजेता नै हुँ ।
सोपश्चात मैले मातृ तथा बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धित विभिन्न संस्थाहरूमा काम गरेँ । कोभिड सम्बन्धित कामहरू पनि गरेँ ।
२०२० मा म युके सरकारको छात्रवृत्तिबाट लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा अध्ययन गर्न गएँ ।
मैले त्यहाँ स्वास्थ्य नीति, योजना र वित्तमा एमएससी अध्ययन गरेँ । त्यस क्रममा मैले विभिन्न देशका स्वास्थ्य प्रणालीहरूको अध्ययन गरेँ।
मैले परामर्शदाताका रूपमा थाइल्याण्डको स्वास्थ्य प्रणाली मूल्याङ्कन गरेको छु । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड अनुसन्धान पनि गरेको छु । मेरो दुवै स्नातकोत्तर अध्ययनका थेसिसहरूमा स्वास्थ्य बीमा सम्बन्धी अनुसन्धान गरेको छु । नेपाल फर्किएपछि पनि म यस विषयमा पठनपाठन गराइरहेको छु ।
स्वास्थ्य बीमा बोर्डमा मेरो नियुक्ति २०८० मङ्सिरमा भएको हो । त्यहाँ मैले आफूले पढेको र अध्ययन गरेको कुरा कार्यान्वयन गर्न सक्छु भन्ने सोचेको थिएँ । त्यहाँ काम गर्दा धेरै राजनीतिक कुराहरू पनि आए । म युवा थिएँ र त्यतिबेला गर्भवती पनि थिएँ । पछि म फेरि लन्डन गएँ । त्यहाँ बस्दा बोर्डको बैठकमा उपस्थित हुन सकिनँ । तर मैले पूर्ण रूपमा जानकारी गराएर नै अनुपस्थित भएको थिएँ ।
पहिला तीनवटा बैठकमा मैले अनलाइन सहभागी भएर आफ्नो राय दिएको थिएँ । चौथो बैठकमा प्राविधिक समस्याका कारणले म्युट भएर बोल्न पाइनँ । पछि हरेक बैठकमा मैले आफ्नो अनुपस्थितिको कारण जानकारी गराएँ । तर पछि इमेल संवाद पनि रोकियो।
नेपाल फर्किएपछि (म फर्केको करिब १०० दिन पनि पुगेको छैन), मैले पुनः निरन्तरता दिन इच्छा व्यक्त गरेँ । वेबसाइटमा पनि मेरो नाम बोर्ड सदस्यका रूपमा कायम थियो । त्यसैले मैले अझै योगदान गर्न सक्छु भन्ने सोचेर आफ्नो रुचि देखाएको थिएँ ।
म अहिले विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टीयरिङ कमिटी सदस्य पनि हुँ । मैले विश्व स्वास्थ्य सभा र कार्यकारी बोर्ड बैठकमा आफ्नो कार्यालयको प्रतिनिधित्व गर्दै आएको छु । त्यहाँ म आँखा स्वास्थ्यको वकालत गर्दै आएको छु । मैले घरेलु स्वास्थ्य वित्तसम्बन्धी प्रस्तावमा पनि मन्त्रालयलाई सुझाव दिएको थिएँ ।
मेरो काम, जागिर (वयद)ले मलाई आवश्यक सबै दिएको छ । तर मेरो रुचि वित्त र अर्थशास्त्रमा भएकाले म यस क्षेत्रमा योगदान दिन चाहन्छु ।
मलाई बोर्ड बैठकमा बोलाइयो र म गएँ । तर अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन । हामीले समाजमा महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ । अहिले पनि यस्तो सोच हाम्रो समाजमा छ ।
अन्त्यमा, बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ ।
(श्रममन्त्री दीपक कुमार साहलाई बर्खास्त गरिएपछि उनी श्रीमती जुनु श्रेष्ठले सामाजिक सञ्जालमा दिएको भिडिओ प्रस्टीकरण । उनी स्वास्थ्य बीमा बोर्डकी सदस्यसमेत हुन् ।)